ताजा खबर संबाददाता | जेठ २२, २०७८ शनिबार

शुक्रबार आएको हावा हुरीको असर रौतहट जिल्ला समेत परेको छ । दिउँसो आएको ठूलो हुण्डरीका कारण जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर एक स्थित पौराई टोलमा बसोबास गर्ने कान्छी माया पाख्रिनको क्षति पुगेको छ । निर्माणाधीन घरको ९० प्रतिशत काम सम्पन्न भई बसोबासको लागि तयारी भइरहेको घरमा हुरीले क्षति पुर्याएको हो ।  हुरीले उक्त घरको छानो उडाउनु को साथै वाल समेत लडाएको स्थानीय सुकेन्द्र गोलले बताएका छन् ।

 
सोही हावा हुण्डरिका कारण पौराई कै प्रसिद्ध मन्दिर पौराई ब्रह्म स्थान मा रहेको मन्दिरमा समेत क्षति पुगेको छ । अचानक आएको हावाहुरीको कारण नजिकै रहेको ठूलो रुख लड्दा मन्दिरमा क्षति पुगेको हो । हावाहुरीका कारण फलफूल तथा तरकारी बारीमा समेत क्षति पुगेको गोलले बताए । विद्युत पोल नजिकका रुखको हाँगा भाँचिएर विद्युतमा समेत केहीसमय समस्या भएपछि केहीबेर विद्युत समेत अवरुद्ध भएको थियो ।