ताजा खबर संबाददाता | असोज ४, २०७८ सोमबार

प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन । सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाका अनुसार बाराबाहेक सबै सातवटै जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ ।

बाराको विवाद मिलिसकेको छ, र सोमबारसम्म क्रियाशील सदस्यको नाम वेवसाइटमा इन्ट्री गरेर पनि सकिने उनले बताए । ‘सदस्यतामा विवाद पहिल्यै सकिएको हो, तर कार्यान्वयनमा केही विवाद थियो । अब हामीले त्यो पनि सल्टाएका छौं,’ उनले भने, ‘बारामा पनि कुरा मिलिसक्यो । भोलि सबै साथीहरुलाई बोलाएर सदस्यता इन्ट्री गर्छौं ।’

सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताएका छन् । ‘जहाँ ५ असोजमा वडा अधिवेशन हुन्छ, त्यहाँ कार्यतालिका अनुसार नै काम हुन्छ, जहाँ त्यो दिन भएन, अरु दिन भएपनि वडा अधिवेशन गराएर अगाडि बढ्छौं’ उनले भने ।

उनका अनुसार बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ । क्षेत्र नं। ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ ।

सप्तरी जिल्लाको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया शुरु हुनेछ । सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको केन्द्रीय सदस्य ढुंगानाले जानकारी दिए ।

रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो । त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरेका छन् । ‘१३ औं महाधिवेशनका २१६ क्रियाशील सदस्यता संख्या केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयपछि केन्द्रबाट हटाइएको थियो, अब ती संख्या फेरि थप गर्ने सहमति भएको छ,’ एक सदस्यले भने ।

पर्साको वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक रमेश लेखक, आनन्द ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति भएको हो । लेखक संयोजक रहेको समितिले प्रदेश दुईका बारा र सप्तरीको क्रियाशील सदस्यता फाइल नै खोलेको थिएन भने सर्लाही– २ र धनुषा–४ को विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।

धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र– ४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका – १ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने समझदारी भएको छ ।

क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन् । अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४ औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर दिने सहमति ती नेता रहेको कार्यदलले सहमति गरेको छ ।

धनुषाको निर्णय कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय सदस्य आनन्द ढुंगाना र जीवन परियारलाई दिइएको छ । कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।