ताजा खबर संबाददाता | असोज ५, २०७८ मंगलबार

रौतहट प्रहरीले ठूलो परिमाणमा चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको गौर स्थित बसपार्कमा डिउटीमा खटिएको प्रहरीले एक यात्रुबाहक बसबाट ओर्लिएका यात्रुहरुलाई चेकजाच गर्ने क्रममा ४० किलोग्राम चाँदीसहित एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा निवासी ३५ बर्षिय बिद्यानन्द साह रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट ठूलो परिणाममा चाँदी आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले मंगलवार बिहानैदेखि चेकजाँच तीब्र पारेको थियो। साहले कालो झोलामा ४० किलो चाँदीलाई पोका बनाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपि विनोद घिमिरेले जानकारी गराएका छन् ।

युरिका इन्भेष्टमेन्ट बैंक ज्ञानेश्वर काठमाडौँबाट माँ जानकी एण्ड कृष्णा ज्वेलर्सको नाममा २० सेप्टेम्बरमा खरिद भएको निजबाट बरामद भएको विलमा देखिएको छ ।

 २० लाखमा खरिद गरिएको चाँदी गौर ल्याउने क्रममा बसपार्कबाट नियन्त्रणमा लिएको सेतो धातुलाई सुनचाँदी व्यवसायीबाट परीक्षण गराएर आवश्यक अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया बुझाउने तयारी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।