ताजा खबर संबाददाता | माघ २३, २०७७ शुक्रबार

रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ६ मा  वडाका जेष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलाको सम्मानको नाममा लाखौं रकमको दुरुपयोग भएको खुलेको छ । वडा कार्यालयको विनियोजित रकम ५ लाख रकम बाट वडा कार्यालय आफैले कार्यक्रम सञ्चालन गरी अपाङ्ग , जेष्ठ नागरिक तथा एकल महिलाहरुको लागि पनि सम्मान कार्यक्रम भनिएको भएता पनि वडाका सबै एकल महिलाहरुलाई उक्त कार्यक्रममा नसमेटिएको हुँदा सम्मान कार्यक्रममा पनि राजनिती र अनियमितता  हावी भएको सोही वडा निवासी एकल महिलाहरुको आरोप रहेको छ । 
बिहीबार देशव्यापी रूपमा भएको  नेकपाको बन्द र आम हडतालको मौका छोपेर वडाले सम्मान कार्यक्रम आयोजना गरेको हो । वडा अध्यक्षले कोटेसन् बेगर आफ्नो मनोमानी ढंगले सम्मानको नाममा झारो टार्ने कार्य गरेको स्थानीय वडाबासी सम्मानमा भाग लिन घण्टौं देखि कुरेर बसेका अपाङ्ग तथा जेष्ठ नागरिकहरुको गुनासो रहेको छ । 
नगरपालिका कै बजेट भएतापनि नगरपालिकालाई  समेत सो कार्यक्रममा चासो रहेको देखिन्न । वडा लगायत पालिकाको सम्पूर्ण आर्थिक कारोबारहरु नगरपालिकाको आफ्नै  मातहतमा रहेको भएता पनि नगरपालिका कार्यालयका कोही पनि कर्मचारी प्रतिनिधी समेत उपस्थित र अनुगमन नहुँदा कार्यक्रमको नाममा अनियमितता भएको स्थानीयको आरोप रहेको छ ।
एक  एक थान खाजा बिस्कुट, ब्रस मञ्जन,साबुन र  गम्छामा सम्मान कार्यक्रमलाई सिमित राख्दा कार्यक्रममा व्यापक अनियमितता भएको प्रस्टै हुने सम्मानमा सहभागी अधिकासको भनाइ रहेको छ ।  कार्यक्रमको आयोजक आफै रहेको वडा नम्बर ६ नं वडा कार्यालयले सहभागीलाई बाटो खर्च भन्दै दुई दुई सय हातमा थमाउँदै धमाधम भरपाई गराउँदै पठाउँदै गरेको कार्यक्रममा सहभागी इन्द्रबहादुर श्रेष्ठले बताएका छन  ।
पाँच लाख बजेट रहेको कार्यक्रममा वडा अध्यक्ष खड्ग बहादुर कुष्वार स्वयं आफैले नगरपालिकाबाट कार्यक्रमको नाममा ३ लाख पेश्की समेत लिइसकेको रहस्य खुलेको छ  । कर्मचारीले पेश्की लिन पाउने व्यवस्था भएपनि जनप्रतिनिधि स्वयं आफैले आफ्नो नाममा पेश्की लिनु नियम विपरीत भएको जानकारहरु बताउछन ।   उता नगरपालिकाका कर्मचारीहरुले भने सो सम्मान कार्यक्रमबारे आफूहरु कोही लाई पनि जानकारी नभएको र सो कार्यक्रमको सम्झौता र कार्यादेश समेत नभई कार्यक्रम भएको चन्द्रपुर नगरपालिकाका सामाजिक विकास शाखाका शाखा अधिकृत मिश्रीलाल साहले जानकारी दिएका छन् । 
सो नगरपालिकाका महिला, बालबालिका, जेष्ठनागरिक तथा सहकारी शाखा लाई समेत सो सम्मान कार्यक्रम बारे आयोजक बाट  कुनै जानकारी प्राप्त नभएको र कार्यक्रममा आयोजकले जानकारी समेत नगरेको शाखा अधिकृत चन्द्रकला बरालले बताउनुभयो  । 
देशमै स्थानीय सरकार व्यापक अनियमितता र भ्रष्टाचारमा डुबेको आरोप लागेर  चौतर्फी आलोचना खेपिरहेको बखतमा चन्द्रपुर नगरपालिका स्थानीय सरकारका जनप्रतिनिधि भएर  नगरपालिका र वडामा समेत यसप्रकारका अनियमितताका गतिविधि मुलक  कार्यहरूले जनप्रतिनिधि र स्थानीय सरकारप्रति जनताको विश्वास गुम्दै गएको चन्द्रपुर वडानं ६ निवासी सुदर्शन नेपाल बताउँछन् ।